नेपालः यातनाविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा यातनाः न्यायका लागि पहलको दोस्रो संस्करण प्रकाशन

यातनाविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा यातनाः न्यायका लागि पहलको दोस्रो संस्करण प्रकाशन गर्न पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ । छोटो समयमै परिमार्जनसहित यो पुस्तिकाको दोस्रो संस्करण प्रकाशन गर्न पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ । यातना हाम्रो प्रहरी कार्यालयहरूमा सर्वव्यापी अभ्यासका रुपमा पाइने गरेको छ । पक्राउ परेका संकित मानिसहरूलाई साबित गराउने सर्वव्यापी तरिकाका रुपमा यसलाई प्रयोग गर्ने गरिएको छ । यातना दिने धेरै कारणहरू मध्य पक्राउ परेका व्यक्ति साविती भएमा भौतिक प्रमाण सहितको अनुसन्धानमा धेरै मेहनत गर्नु पर्दैन भन्ने मान्यताको आधारमा पनि यातनाको प्रयोग गरिदै आएको छ । पीडित आफ्ना अधिकारकाबारेमा सचेत नरहेको र न्यायका लागि उसले उपयोग गर्न सक्ने उपायहरूका सम्बन्धमा जानकार नरहेको र यातनाको घटनामा प्रयाप्त कानुनी उपचारको बाटो पनि नभएको कारणले गर्दा पीडकहरूले सधै सजायबाट उन्मुक्ति पाउने गरेको पाइन्छ । यातना आफैमा अपराध भए पनि दुर्भाग्य नै भन्नु पर्छ यातनाका घटनाहरूलाई अपराधीकरण नगर्ने र दण्डनीय नबनाउने विश्वका थोरै मुलुकहरूमा नेपाल पनि पर्छ । कानुन कार्यान्वयन गर्ने अधिकारीहरूले दण्डहीनताका साथ यातनाको प्रयोग गर्छन् । यातनासम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धीले यातनालाई अस्वीकार्य भन्दै यसमा संलग्नहरूलाई दण्डित गरिनु पर्ने सिफारिस गरेको छ । उक्त महासन्धीले कुनै पनि परिस्थितिमा यातनालाई बर्जित गरेको छ । उक्त महासन्धीको पक्षराष्ट्र भए पनि नेपालले हालसम्म पनि यातनालाई अपराधिकरण गर्ने गरि प्रभावकारी यातनाविरुद्धको कानुन बनाएको छैन । कानुन बनाएर मात्रै पनि पुग्ने अवस्था छैन । प्रभावकारी कानुन सँग सँगै प्रहरी तथा न्यायालयको सुधार पनि आवश्यक छ । प्रहरीलाई प्रयाप्त तालिम सँगै व्यवसायिक बनाउनु जरुरी छ भने न्यायालयलाई समेत त्यत्तिकै प्रभावकारी बनाउनु जरुरी छ ।

यातनाका पीडितहरू प्रायःजसो समाजका सीमान्तिकृत वर्गका हुने गर्छन् जसको चिकित्सकीय, मानसिक वा कानुनी सेवामा पहुँच न्यूनप्रायः हुने गर्छ । यस्तो समस्यालाई मध्यनजर गर्दै एसियाली मानव अधिकार आयोगले यो पुस्तिकामार्फत जनमानसमा सचेतना जगाउने प्रयास गरेको छ जसले गर्दा उनीहरू आफ्नो मुलुकको कानुन अन्तर्गत आफ्ना हकहरू र यस सम्बन्धमा कसरी सहयोग हाँसिल गर्न सकिन्छ भन्नेबारेमा सचेत बनून् ।

यो पुस्तिकालाई आफै अग्रसर भई सहायता प्राप्त गर्ने गरी तयार गरिएको छ जसमा सुझाइएका उपायहरू पूर्ण भने छैनन् । हामीले यातनासँग सम्बन्धित विषयवस्तुलाई सजिलै बुझ्न सकिने भाषामा व्याख्या गरेका छौँ जसलाई यातनाबाट बढी पीडित बन्ने गरेको समाजको अर्ध शिक्षित वर्गले पनि सजिलै बुझन सकोस् ।

हामीलाई आशा छ तपाईंहरूले यो पुस्तिकालाई उपयोगी भएको पाउनेु हुनेछ । यातनाको डरलाग्दो परिणामलाई सामना गर्नका लागि यो हाम्रो सानो प्रयास हो । कृपया यो उद्देश्यलाई हासिल गर्न आफ्ना हातहरु बढाउनुहोस् र जनसमुदायमा सचेतना जागृत गर्न सहयोग गर्नुहोस् । उनीहरूलाई सहयोग गर्न हामीलाई सहयोग गर्नुहोस् । सँगसँगै मिलेर हामीले गर्न सक्छौँ र गर्ने छौँ ।

यस पुस्तिकालाई अनुवाद तथा सम्पादन गरी नेपालको परिवेश अनुरुप बनाउने कार्यमा लाग्नु हुने एसियाली मानवअधिकार आयोग, एसियाली कानुन स्रोत केन्द्र, नेपाल डेक्सका प्रकाश मोहरा तथा अनुसन्धाता शिवहरि ज्ञवालीप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।