NEPAL: हाते पुस्तिका जातीय भेदभाव तथा छुवाछूत न्यायका लागि पहल प्रकाशन

दक्षिण एसियामै जातीय भेदभाव तथा छुवाछूत मुख्य समस्याको रुपमा रहेको छ । विगतदेखि जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि यस क्षेत्रमा भएका पहलहरु अझै प्रभावकारी हुन सकेका छैनन् ।

नेपालका सबै नागरिकहरूलाई समानता, स्वतन्त्रता र आत्मसम्मान जस्ता मानवअधिकारका मूलभूत विषयहरू नेपालको अन्तरिम संविधान, २०६३, राष्ट्रिय कानुनहरू तथा नेपालपक्ष भएका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दस्तावेजहरूले प्रत्याभूत गरेका छन् । यद्यपि, अझै पनि जातीय विभेदका आधारमा राज्यपक्ष वा गैरराज्यपक्षबाट दलित समुदायलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारको उपयोगबाट बञ्चित गरिनु पक्कै पनि मानवीय सभ्यताको उपहास हो ।

२०६२/०६३ को जनआन्दोलनपछि गणतान्त्रिक सरकारले व्यवस्थापिका संसदवाट २०६८ जेठमा ‘जातीय विभेद तथा छुवाछूत (सजाए र कसुर) ऐन, २०६८’ पारित गरी लागू गरेको छ । तथापि, सामाजिक, साँस्कृतिक, धार्मिकलगायत आस्थाका कारण हुने विभेदजन्य घटनामा कमी आउन सकेका छैनन् । जातीय आधारमा कुटपीट, लुटपाट, अपमान र हत्याजस्ता अपराध भइरहेका छन् । पीडितले विद्यमान ऐनअनुसार न्याए पाएका घटना विरलै छन् । जातीय विभेदसम्बन्धी घटना दर्ता गराँउदा “गाली वेइज्यती” जस्तो कमजोर मुद्दा बनाएर दर्ता गरिन्छ । यसले एकातिर पीडितले न्याय पाउने सम्भावना टरेको र अर्काेतिर विद्यमान ऐनबारे आम रुपमा जानकारी हुन नसकेको देखिन्छ । ऐनका विषयमा सरोकारवाला निकायहरु प्रहरी, स्थानीय प्रसासन र वकिलहरु समेत बेखबर रहेको घटना अध्ययनबाट देखिन्छ भने आम सुमदाय छुवाछूतलाई नियतिको रुपमा बुझ्दै अन्यायबीच बाँच्न बाध्य छन् ।

बदलिँदो राजनीतिक परिवेशमा पनि दलित समुदायले बाँचिरहेको जीवनमा खास अन्तर छैन । जातीय आधारमा हुने विभेदको अन्त्य गर्नु र मान्छे मान्छेको रूपमा बाँच्न पाउने नैसर्गिक अधिकार स्थापित गर्नका लागि दलित समुदायका मुद्दालाई बहसमा ल्याउन, उनीहरूमाथि भइरहेका अन्याय, अत्याचार, शोषण, दमनहरूलाई आमजनता तथा सम्बन्धित निकायसमक्ष पुर्याउनु आजको आवश्यकता हो ।

एसियाली मानवअधिकार आयोग र एसियाली कानुनी स्रोत केन्द्र स्थापना कालदेखि एसियाली मुलुकहरुमा मानवअधिकारको संरक्षण र संवद्र्धन तथा जातीय विभेदविरुद्ध महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यससम्बन्धमा सरकार, नागरिक समाज, मानवअधिकारकर्मी, सरोकारवाला एवम् आम समुदायलाई जानकारी दिने तथा सुसूचित गर्ने उद्देश्यले यो हाते पुस्तिका प्रकाशन गरिएको हो । हाते पुस्तिका लेखन तथा सम्पादनमा अहोरात्र खटिनुहुने एसियाली मानवअधिकार आयोग तथा एसियाली कानुनी स्रोत केन्द्रका नेपाल डेक्स प्रमुख प्रकाश मोहरा र जागरण मिडिया सेन्टरका शिवहरि ज्ञवालीलाई हार्दिक आभार व्यक्त गर्दछु । यसका साथै पुस्तिका तयारीका लागि सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी सङघ, संस्था तथा व्यक्तित्वहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

प्रस्तुत पुस्तिका जातीय भेदभाव तथा छुवाछूतलाई बुझ्न र पीडित समुदायलाई न्याय दिलाउनका लागि सहयोग पुर्याउने छ भन्ने विश्वास गरिएको छ ।

 

भाद्र, २०७२

विजो फ्रान्सिस

कार्यकारी निर्देशक

एसियाली मानवअधिकार आयोग तथा एसियाली कानुनी स्रोत केन्द्र

Click here to Download the Hand book